१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- ९ बसवरियास्थित सिम्रौनगढ-कचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।
कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।
७०८३ नम्बरको मोटरसाइकलका चालक प्रदीपको टाउको तथा चिउडोमा चोट लागेको थियो । बेहास भई गम्भीर अवस्थामा उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।
५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं.९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।