वीरगञ्ज, २० फागुन । नेपाली काङ्ग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका उम्मेदवार जनार्दन सिंह क्षेत्री सम्पूर्ण प्यानलसहित विजयी भएका छन् ।
काङ्ग्रेस पर्साको १४ अधिवेशनअन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पदाधिकारी तर्फको अन्तिम मत परिणाम सार्वजनिक हुँदा क्षेत्री आफ्नो प्यानलसहित ठूलो मतान्तरले विजयी भएका हुन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष जनार्दन सिंह क्षेत्री र संस्थापान इतर पक्षबाट निवर्तमान जिल्ला सचिव श्याम प्रसाद पटेल आफ्नो प्यानलसहित चुनावी प्रतिश्पर्धामा उत्रेका थिए । सिंह १३ औँ जिल्ला अधिवेशनमा निवर्तमान सभापति अजय द्विवेदीसँग पराजित भएका थिए ।
निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीका अनुसार जिल्ला सभापतिमा क्षेत्री ४ सय ६५ मतले विजयी भएका छन् ।
सिंहले १ हजार १ सय १० मत ल्याउँदा पटेलले केवल ६ सय ४५ मत ल्याएका छन् । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको छ ।
जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । क्षेत्रीकै प्यानलबाट उम्मेदवारी दिएका कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेश कुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सह-सचिवमा नविन सिंहले १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ ल्याएर विजयी भएका छन् ।
सिंहले जिल्लामा संस्थापन पक्षका तिन ठूला नेता केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ पाएका थिए भने पटेलसँग संस्थापन इतर पक्षका निवर्तमान जिल्ला अध्यक्ष अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको साथ थियो ।
त्यस्तै क्षेत्रीले अर्का सभापतिका उम्मेदवार रामनारायण कुर्मीलाई कन्भिन्स गरेर उप-सभापतिमा लड्न लगाएका थिए । कुर्मीपनि क्षेत्रीको प्यानलबाट उम्मेदवार बन्दा इतर समूह झन् कम्जोर बनेको थियो । यता, जिल्लाको ४ वटा क्षेत्रका १४ वटै स्थानीय तहमध्ये अधिकतममा पनि संस्थापन पक्षले आफ्नो पकड बनाएको थियो । संस्थापन इतर पक्षले वीरगञ्ज महानगरपालिमा मात्रै जित हासिल गरेको थियो ।
मतपरिणाम पश्चात नव निर्वाचित सभापति सिंहले पार्टीलाई एक ढिक्का बनाएर पर्सा जिल्लालाई पुन: काङ्ग्रेसको गढ बनाउनु आफ्नो प्रमुख एजेण्डा रहने बताएका छन् । त्यस्तै उपबिजेता श्याम पटेलले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै सभापतिमा विजयी भएका सिंहसहितको प्यानललाई बधाई दिँदै आफुलाई सहयोग गर्ने सम्पूर्ण नेता र पार्टीका साथीहरुलाई धन्यवाद दिएका छन् ।
विभिन्न कारणले लामो समयदेखि सर्दै आएको जिल्ला निर्वाचन अन्तत: बिहिबार वीरगञ्जस्थित बालमन्दिर परिसरमा सम्पन्न भएको थियो । निर्वाचनमा ६७ पदका लागि १ हजार ८ सय ३० जना मतदातामध्ये १ हजार ७ सय ७९ जनाले मतदान गरेको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।