६ पुस, दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।
शाही दम्पत्ति आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए ।
गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।
यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अनलाइनखबरसँग भने, ‘मैले पनि त्यो कुरा त सुनेको हुँ, तर हाम्रो सम्पर्कमा नआइसकेकाले मैले पुष्टि गर्न सक्दैन ।’
उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । अपहरणको कारण पनि खुलेको छैन । यसअघि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको थियो ।
onlinekhabar