गिरमिटिया पुर्खाहरुको इतिहास र गौरव
परमशिला बनिया
संसारमा हरेक मान्छे र उनीहरु बसोबास गर्ने क्षेत्र वा देश आ—आफ्नै किसिमका छन । तिनले मौलिक र बिशिष्ट इतिहास, पहिचान, सभ्यता र संस्कृति बोकेका हुन्छन । कसैको लागि कसैको संस्कृति र इतिहास अनौठो पनि लाग्न सक्छ । संसार ठूलो छ ।
यहाँ थुप्रै विबिधताहरु अफैमा विशिष्ट, सुन्दर र स्वभाविक पनि छन ।
यहाँ मानव समुदायको चर्चा गर्दा संसारमा एउटा विशिष्ट, अद्वितीय र कारुणिक कथा, व्यथा र लामो इतिहास तथा पहिचान बोकेको समुदाय हो गिरमिट जसलाई गिरमिटिया पनि भन्ने गरिन्छ । गिरमिट शब्द शायद धेरैले सुनेका छैनन् होला, यदि कसैले सुनेको छ भने त्यस्तो मान्छे बहुत कमै होलान् । गिरमिट शब्द नेपाली शब्दकोशमा पनि छैन होला । वास्तवमा गिरमिट भनेको एउटा मानवीय समुदाय हो । भारतीय मूलका केही मान्छेहरुका लागि प्रयोग हुने पद हो । त्यो पद उनीहरुले आजभन्दा करीब तीन सय बर्ष पहिला प्राप्त गरेका थिए ।
के हो त गिरमिट वा गिरमिटिया ?
कुनै समय यस्तो थियो जतिबेला ब्रिटिश राज्यमा कहिल्यै सुर्यास्त हुँदैन्थ्योे । यसको एक मात्र कारण थियो विश्वका सबै देशहरु ब्रिटिशको कब्जामा थिए । जसलाई ब्रिटिशको उपनिवेश भनिन्छ । सन् १८०० मा इंलैण्डमा औद्योगिक क्रान्ति शुरु भयो । यस्तो परिस्थितिमा ब्रिटेनले एशिया, अफ्रिका र अस्ट्रेलियामा उपनिवेशबादको सुरुवात गर्याे । ती देशहरुमा ब्रिटेनले ठुलाठुला उद्योगहरु सञ्चालन गरी सम्पन्न र शक्तिशाली बन्न चाहन्थ्यो । सबै देशहरुलाई आफ्नो कब्जामा लिन चाहन्थ्यो । यस्तो अवस्थामा उनीहरुलाई धेरै भन्दा धेरै मजदुरहरुको आवश्यकता महशुस भयो । त्यतिबेला नेपालको छिमेकी राष्ट्र भारतमा पूर्ण रुपमा अंग्रेज वा ब्रिटिशहरुको शासन थियो । ब्रिटिशले भारतलाई कब्जा गरी त्यहाँको सत्ता आफ्नो हाथमा लिएको थियो । त्यसैबेला आफ्नो आवश्यकता पुरा गर्नका लागि ब्रिटिश साशकहरुले अविभाजित भारतबाट मेहनेती र इमान्दार किसानहरुलाई ती देशहरुमा लैजाने गर्दथे ।
उनीहरुले राम्रोसंग परीक्षण गरिसकेका थिए भारतीय किसानहरु कति मेहनती र इमान्दार छन् र उनीहरु कम पैसामा पनि बढिभन्दा बढि काम गर्न सक्छन भनेर । ब्रिटिसहरुले यसैको फाइदा उठाएर भारतीय गरीब जनतालाई सम्झौता अर्थात् एग्रिमेन्टमा काम गर्नका लागी विश्वका थुप्रै देशहरुमा लगे । ब्रिटिशहरु र मजदुरका बिचमा भएको त्यही एग्रिमेन्ट पछि गएर वा अपभ्रंश भएर गिरमिट हुँदै गिरमिटया भएको हो । त्यही गिरमिट वा करारमा काम गर्ने मजदुरहरुलाई गिरमिटिया भन्न थालियो । यही गिरमिटियाहरु आज विश्वमा प्रसिद्ध छन । यही शब्द एउटा ऐतिहासिक पहिचान र गर्वको रुपमा मान्न थालियो । ती गिरमिटियाहरु आज मारिशस, फिजी, सुरीनाम, गुयाना, टोबैगो एण्ड त्रिनिदाद आदि दर्जनौं देशहरुमा पियनदेखि पीएम सम्मका उच्च ओहोदामा छन् । उनीहरु आफ्ना पुर्खाका मातृभाषा भोजपुरी र अवधी नै बोल्छन् । मारिशसमा त उनीहरुको संस्कृतिलाई गमट संस्कृति भन्ने गरिन्छ जुन सरकारले नै पक्षपोषण गरी महोत्सवकै रुपमा सबैले मनाँउछन् । उनीहरुले आफू सँगै कुरान, रामायण, गीता समेत लिएर गएका थिए जुन आज पनि जीवन्त छन् । भारत छाडिसके पछि कोही कोही भारत फर्केर आए भने धेरैजसो त्यहीं बस्न बाध्य बनाइए र पछि गएर त्यहीं देशका मूलबासी नागरिक हुन पुगे । आफ्नो सुन्दर देशको निर्माणमा लागे । तिनका मुटुका धडकन नै बने ती ठाँउ र देशहरु जहाँ आज तिनीहरु बस्छन् ।
गिरमिटियाहरुको कारुणिक कथा !
सत्रौं सताब्दीमा ब्रिटेन वा अंग्रजले विश्वका थुप्रै देशहरुमा कब्जा जमाएको थियो । ब्रिटेनबाट भारत आएका अंग्रेजहरुले भारतीयहरुलाई गांस, बास र कपासका लागी धेरै कष्ट दिन थाले । ती अंग्रेजहरुले भारतीयहरुलाई गुलामीको शर्तमा बिदेश वा आफ्नो देश पठाउन थाले । पैसा, थुपै्र सुनचाँदी र धनसम्पत्तीका लोभ, लालच र नमान्नेलाई डर समेत देखाएर भारतबाट सम्झौता अर्थात् एग्रीमेंट गरीे मारिशस, सुरीनाम, फिजी आदि देश लगिएका तिनै मजदुहरुलाई नै पछि गिमिटिया व गिरमिट भनिन्छ । आफुहरुलाई लैजानुको पछाडीको सत्य कुरा त्यतिबेला थाहा हुन्थ्यो जतिबेला उनिहरुलाई समुद्री यात्राको क्रममा पशुजस्तै यातना झेल्नु पथ्र्यो । जहाजबाट झर्ने बित्तिकै उनिहरुलाई कोठीमा पठाइन्थ्यो । यात्राको थकान नमेटिदै उनिहरुलाई उखु खेती र चिनी कारखानाको काममा खटाइन्थ्यो । कागजमा औंठाछाप लगाउन लगाएर प्रत्येक बर्ष दक्षिण अफ्रिका लगायतका थुप्रै देशहरुमा मजदुरी गर्न बाध्य पारिन्थ्यो । प्रत्येक बर्ष भारतबाट गिरमिटिया मजदुर बनेर १० देखि १५ हजार मजदुर भारतबाट फिजी, गुयाना, त्रिनिदाद, टोबैगो, नेटाल, सुरिनाम, मारिशस जस्ता देशहरुमा जान थाले । यो सबै सरकारी नियम अन्र्तगत रहने गर्दथ्यो । यो नियम पनि ब्रिटिशहरुले नै बनाएका थिए । त्यतिबेला यस्तो कारोबारको नेतृत्व गर्नेहरुलाई सरकारी संरक्षण प्राप्त थियो ।
उनीहरुको इतिहास पल्टाउँदा आँखाबाट आँशु आउँछ । सन् १८३४ मा पहिलोपटक शर्तबन्दी अन्तर्गत भारतबाट समुन्द्रको बाटो भएर पानी जहाजमा बसालेर उनीहरुलाई बिश्वका ती देशहरुमा लगिन्थ्यो जहाँ आफ्नो भन्ने कोही हुँदैनथ्यो । लैजाने क्रममा अफुसंग भएको खानेकुरा छँदासम्म खान्थे र सिद्धिएपछि उनिहरुलाई भोकै बस्नुपर्ने हुन्थ्यो । जहाजको लामो यात्रा गर्ने क्रममा उनीहरुमध्येका कतिपय बाटोमै मर्ने र समुद्री माछाका अहार समेत बन्न पुग्दथे । धन कमाउने उनीहरुको सपना बिच बाटोमै समाप्त हुन्थ्यो । सम्बन्धित ठाउँमा पुर्याइसकेपछि ती मजदुरहरुलाई त्यहाँका शासकहरुले उँखु खेती र अन्य खेतीजन्य काम लगायत ठुला ठुला कलकारखानाको, सरकारी भवन, बन्दरगाह निर्माण, टापुहरुमा सडक निर्माण गर्ने काममा खटाउन थालियो । ती मेहनती मजदुरहरुले त्यहाँको मरुभुमी जमिनमा आफ्नो पसिना र रगत बगाउन थाले । साँझ देखी बिहानसम्म उनिहरुले मरिमेटी ठुलाठुला कलकारखाना, सडक निर्माण, पहाड फोर्ने लगायतका काममा उनिहरु सफल भए । आफ्नो समय पुरा भएपछि उनीहरुसंग हाथमा केही रहदैन्थ्यो । उनीहरु की त आफ्नै मालिकको घरमा काम गर्थे या अन्य मालिका हाथमा बेचिने गर्दथे । बिरामी पर्दा वा काम गर्न नसक्दा उनीहरु मालिकबाट प्रताणित हुने गर्दथे ।
गिरमिटियाहरुमा महिलाको तुलनामा पुरुषहरुलाई बढि ल्याउँथे । उनीहरुले योजना बनाएका थिए । नश्ल र बंशलाई सखाप पार्ने र इतिहासै निमिट्यान्न पार्ने गरी योजना बनाएका हुन्थे । त्यहाँका हब्सी महिलाहरुसंग सम्बन्ध गराएर उनीहरुलाई इसाई बनाउने । तर ती गोराहरुलाई सफलता मिलेन । किनभने अल्पसंख्क भारतीय महिलाहरुले सीता एवं दमयन्ती जस्तै रत्न आदर्श लिएर गएका थिए । उनीहरुले आफ्नो परिवारको मात्र सेवा सत्कारमा समय बिताउने गर्दथे ।
गिरमिटिया मजदुरहरुलाई त्यहाँ बिवाह गर्न अनुमति थिएन । यदि कुनै गिरमिटियाले बिवाह गर्थे भने उनिहरुमाथि गुलामीको नियम लगाइने गरिन्थ्यो । यदि बिवाह गरेको थाहा पाएको खण्डमा महिला एउटा मालिकलाई बेचिने गरिन्थ्यो भने उसको बच्चा अर्कोलाई । भारतबाट गिरमिटिया पुरुषसंग चालिस प्रतिशत महिला जाने गर्दर्थे ।
युवा महिलाहरुलाई त्यहाँका मालिकहरुले पूर्ण रुपमा आफ्नो अधिनमा राख्ने गर्दथे र चरम यौन शोषण पनि गर्ने गर्दथे । गिरमिटिया महिलाहरुको आकर्षण समाप्त भइसकेपछि ती महिलाहरुलाई पुनः मजदुरसंग पठाइन्थ्यो । उनीहरुका सन्तान मालिकको सम्पत्ति हुने गर्दथे । बच्चा ठुलो भएपछि मालिकले आफ्नो घरमा काम गराउँथ्यो या अरुको हातमा बेचिदिन्थ्यो । गिरमिटियाहरुलाई ती शासकहरुले बाँच्नका लागी मात्र खाना र कपडा दिने गर्दथे । मनोरञ्जन, शिक्षा आदि मुलभुत आवश्यकताबाट उनीहरुलाई बन्चित गरिन्थ्यो ।
उनीहरुले प्रत्यक दिन १२ देखी १८ घण्टासम्म काम गर्ने गर्दथे । रातदिन काम गर्दा गर्दा प्रत्येक बर्ष सयौं मजदुरले आफ्नो ज्यान गुमाउने गर्दथे । उनीहरुको निवासस्थान ज्यादै अस्वस्थकर हुन्थ्यो । इतिहासकार प्रह्लाद रामसरणको पुस्तक मारिशस का सुबोध इतिहास (१९८८) को पृष्ट १९ देखी २५ मा उल्लेख भए अनुसार, महिनाको अन्त्यमा उनीहरुलाई ५ रुपिया दिइने गरिन्थ्यो । एक दिन काममा नजाँदा २ दिनको पैसा काटिन्थ्यो । प्रत्येक परिवारलाई दिनको एक किलो चामल, आधा किलो चिनी थोरै मात्रामा नुन र केही दाना तोरी दिने गरिन्थ्यो । हरेक बर्ष एक व्यक्तिलाइ एउटा धोती, एउटा च्यादर, एउटा बिस्तरा र एउटा थाली दिने गरिन्थ्यो । यस्तो कष्टपूर्ण वातावरणमा रहेर ती मजदुरहरु छिटै आत्तिए र आफ्नो पैतृक घरको उनिहरुलाई याद आउन थाल्यो । उनीहरुलाई न्याय दिने त्यहां कोही थिएन ।
उनीहरुलाई यहाँसम्मको दुख दिइने गरिन्थ्यो की मृत्यृ भएपछि आफ्नो धर्म, रीत अनुसार अन्त्येष्टि समेत गर्न दिदैन्थे ।
भारतको उत्तर प्रदेश र बिहारमा मात्र भोजपुरी अवधी भाषीहरु बस्ने गर्दथे । त्यस क्षेत्रमा चलाख ब्रिटिशहरुले गहिरो अध्ययनको क्रममा त्यहाँका बासिन्दाहरु कर्मठी र घामपानीमा दिनरात जोतिएर काम गर्न सक्ने क्षमता भएका देखिए । त्यसैले भारतको कलकत्ता बन्दरगाह भएर उनीहरुलाई समुन्द्रको बाटो भएर विश्वका थुप्रै देशहरुमा पुर्याइयो ।
गिरमिटियाहरुले त्यतिबेला दुःख कष्ट सहे तर आज तिनैका बंशजहरु कैयौं समुन्द्रापारीका ती देशहरुमा प्रधानमन्त्री देखी अन्य उच्च पदमा आसीन भएर देश हाँकिरहेका छन । जस्तै मारिशसमा शिवसागर रामगुलाम, अनिरुद्ध जगन्नाथ, नविनचन्द्र रामगुलाम आदि व्यक्तित्वहरु प्रधानमन्त्री सम्म बनेका छन । पछि मात्र त्यहाँका योद्धा क्रान्तिकारी बीर महापुरुष र महात्मा गान्धीको समेतको सहयोगमा सन् १९१७ मा गिरमिट प्रथाको अन्त्य भयो । पछि भारतका केही पदहस्त व्यक्तित्व र ती गिरमिटका बंशज संतानहरुले गिरमिटिया प्रथाको बिरोधमा ठुलो आन्दोलन गरे र ठाउँ ठाउँमा भाषण गरे । गिरमिट प्रथा रोक्न गरिएको ठुलो प्रयासपछि अन्ततः यो प्रथाको अन्त्य भयो ।
गिरमिटियाहरुको बर्तमान अवस्था ः
आजभन्दा करीब ३०० बर्ष पहिला भारतबाट मारिशस, सुरिनाम, जमाइका, टोबैगो एण्ड त्रिनिदाद, गुयाना लगायतका देशमा गएका ती गिरमिटिया मजदुरहरुका वंशज आज त्यहाँका सत्तासिन पदहरुमा बसेका छन । त्यहांका मरुभुमि, र जडजंगलहरुलाई सुन्दर र रमणीय बनाएका छन । ठुलाठुला पार्क, बिहार, मठमन्दिर, पर्यटकीय स्थल बाटोघाटो बनाएका छन । ती ठाउँहरुमा त्यही गिरमिटियाहरुको पसिना छचल्किएको छ । त्यहाँको सरकारले पनि यी सुन्दर रमणीय देश निर्माणमा गिरमिटिया मजदुरहरुको योगदान रहेको स्वीकार गरेको छ । समय बित्दै जाँदा त्यहाँको सरकारले उनीहरुलाई मान सम्मान प्रदान गरेको छ । बिस्तारै शिक्षाको बिकास भयो र उनिहरु पनि शिक्षा, स्वास्थ्य र रोजगारीमा भाग लिन थाले । आफ्नो घरपरिवार नातागोतासंग नाता तोडी समुद्र पारिका ती देशहरुमा कमाउनका लागी गएका ती महान गिरमिटियाहरु समयको कलान्तरमा ती देशहरुमा आज ३० देखी ६० प्रतिशत सम्मको जनसंख्या ओगोटेका प्रमाणहरु छन । उनीहरुले आफु जांदा लगेको भोजपुरी भाषा, कला, संस्कार, रितिरिवाज, भेषभुषा, पहिरनहरु, आजसम्म जोगाएर राखेका छन । मारिशसमा त भोजपुरी भाषामा पढाइ लेखाइ हुन थालेको छ । आजपनि उनीहरुले आफ्नो पुर्खौली भुमिलाई सम्झिरहन्छन । ती गिरमिटियाका आफ्ना बंशजहरु पनि आफ्नो पुख्र्यौली ठाउँ हेर्न पटक पटक भारत आउने गर्छन । गिरमिटियाका ती बंशजहरुले आफनो भाषामा थुपै्र किताबहरु र गीतसंगीतहरु प्रकाशित गरेका छन ।
सारांश ः
ती गिरमिटियाहरुको कारुणिक कथा र व्यथाका विषयमा संसारका थुप्रै लेखक, कवि, पत्रकार र उपन्यासकारहरुले थुप्रै पुस्तक, लेख र रचनाहरु लेखेका छन् । प्रकाशित र प्रसारित पनि छन् । उनीहरु आज जुन देशमा बसेका छन् त्यही देशप्रति वफादार रहेका छन् । आफ्नो देशलाई स्वर्ग झैं सिंगारेका छन् । आज उनीहरुका पुर्खाका इतिहास अमर छ । ती भोजपुरीभाषी र केही अवधीभाषीहरु आफ्नो मातृभाषा र संस्कृतिसँगै अंग्रेजी, फ्रेंच, क्रियोल, चाइनिज, आदि भाषाहरुमा निकै दख्खल हुन्छन् । अन्तराष्ट्रिय किर्तिमान समेत कायम गरेका छन् । उच्च ओहेदामा पुगेर सफल र सुखी जीवन बिताउन सफल भएका छन् । आफ्नो देशलाई विश्वको मनमोहक र आकर्षक पर्यटकीय स्थलको रुपमा विकसित बनाएका छन् । गिरमिटियाहरु आफ्नो देशमा अन्य समुदायसित मेलजोलका साथ समान अधिकार आदान प्रदान गरी जीवन बिताइ रहेका छन् ।
हाम्रो देश नेपालमा पनि राजा, राणा, शाह शासन कालमा नेपाली जनताले क्रर अन्याय, शोषण र अत्याचार नसहेका होइनन् । ठूलो संघर्ष, आन्दोलन र जनक्रान्तिका परिणम स्वरुप आज हामी कहाँ गणतन्त्र स्थापित भएको छ । नागरिकको सर्वाच्चतालाई संस्थागत रुपमा स्वप्कार गरिएको छ तर बिभेदका लागि अझै पनि मधेशी, जनजाति, दलित, महिला आदि वर्ग र समुदायले सरकार विरुद्ध संघर्ष जारी राख्नु परेको छ ।
(लेखक परमशिला बनिया रुपन्देहीकी एक पत्रकार हुन्)