काठमाडौँ पुस १२— 'मैले जुन परिवारको लागि स्पर्म दिएँ, त्यो महिला अहिले गर्भवती भइसकिन् । उनले जन्माउने बच्चा कस्तो हुन्छ होला, त्यो बच्चा हेर्ने उत्कट इच्छा छ ।
आखिर म उसको बायोलजिकल फादर हुँ,' एक महिनाअघि एक स्पर्म डोनर (वीर्यदाता) को स्टोरी गर्ने क्रममा एक डोनरले भनेका थिए ।उनको कुरा मनमा बसिरहेको थियो। संयोगले यो हप्ता रिलिज भएको बलिउड फिल्म 'गुड न्युज' मा यसैसँग मिल्दो जुल्दो कथा छ। आयुष्मान खुरानाको 'विक्की डोनर'जस्तो यो स्पर्म डोनरकै कथा होइन। बरु यो स्पर्म फेरबदलको कथा हो। वरुण(अक्षय कुमार) र दीप्ती(करीना कपुर) बत्रा दम्पतिले बिहे गरेको ७ वर्ष भइसक्यो। तर, उनीहरुका सन्तान भएका छैनन्। परिवार, आफन्त अनि समाजको दबाबले अब यी दुईलाई पनि सन्तानको रहर लागिसक्यो। जति प्रयास गर्दा पनि बत्रा दम्पतीको प्राकृतिक रुपले अभिभावक बन्ने प्रयास असफलै हुन्छ। त्यसपछि उनीहरुले अप्राकृतिक बाटो अपनाउँछन् त्यो हो आइभिएफ (इन्भिट्रोफर्टिलाइजेसन)।
त्यस्तै, अर्को बत्रा दम्पती हनि(दल्जित दोसाँज) र मोनिका (कियारा आडवानी) पनि यही उपायद्वारा अभिभावक बन्ने धुनमा हुन्छन्। चन्डीगढको यो बत्रा दम्पति पनि सन्तानबिहीन हुनुको सामाजिक दबाबाबाट बच्नका लागि यही उपाय अपनाउन पुग्छन्। अर्को संयोग के पर्छ भने दुवै आइभिएफका लागि एउटै अस्पतालमा पुग्छन्।
डाक्टर जोशी दम्पति (अडिल हसन र टिस्का चोपडा)ले यसको जिम्मा लिन्छन्।
दुई परिवारको थर एउटै हुन गएपछि अस्पतालले स्पर्म मिक्सअप गरिदिन्छन्। अर्थात दीप्तीको पेटमा हनिको स्पर्म त मोनिकाको पेटमा वरुणको। यी दुई बत्रा परिवारले यो समस्याको समाधान कसरी गर्लान् त? फिल्म यही विषय वरपर घुमेको छ।
फिल्मले मूख्यत: दूइटा बिषय उठाएको छ। एउटा, समाजले दम्पतिहरुलाई खासगरी महिलालाई बच्चा जन्माउन किन जोड दिन्छ। के बच्चा नजन्माइ कुनै महिलाको जीवन सफल र पूर्ण हुनसक्दैन? के दम्पतिहरु आफ्ना लागिभन्दा पनि परिवार र समाजको दबाबमा आफ्नो करिअरलाई दाउमा राखेर अभिभावक बन्न बाध्य भइरहेका छन्?
फिल्मले उठाउने दोस्रो महत्वपूर्ण प्रश्न हो आफ्नै रगतको कुरा। एडप्टेसनको पूर्णत विपक्षमा देखिने फिल्मले वंश अघि बढाउनका लागि आफ्नै जीन भएको सन्तान चाहिन्छ कि चाहिँदैन भन्ने पनि प्रश्न उठाउँछ। जम्मा एउटा दृश्यमा भए पनि फिल्मले गर्भवती महिलाले त्यस अवधिमा भोग्ने असह्य मानसिक र शारीरिक पीडाको कुरा पनि उठाउँछ।
ज्योति कपुरको पटकथामा राज मेहताले निर्देशन गरेको फिल्मलाई दुई भागमा बाँडिएको छ। पहिलो भाग पूर्णत कमेडी छ। यसका लागि पाददेखि पुड्कासम्मका सबैखाले सस्ता जोकहरु प्रयोग गरिएको छ। गर्भवतीलाई उडाएर गँजेडीले आनन्द लिने जस्ता कमेडी पनि यसमा छन्। कमेडीकै लागि दलजित र कियाराका चरित्रलाई परम्परागत हिन्दी फिल्ममा जस्तै बुद्धि भएका पञ्जाबी बनाइएको छ। जो हरेक कुरामा आकाशै उचाल्नेगरी चिच्याउँछन्, मिठाइ बाँडिहाल्छन् र नाचगान गर्न थालिहाल्छन्।
फिल्मको सबभन्दा सकारात्मक कुरा के हो भने यसको विषयदेखि प्रस्तुतिसम्म नयाँपन छ। आफूलाई सकेसम्म दोहोर्याइरहेका तथा सँधै बक्स अफिसलाई मात्र ध्यानमा राखेर फिल्म छानिरहेका कलाकार भएपनि अक्षयकुमारको यो फिल्मका धेरै कुरा ताजा लाग्छन्। फिल्मले पहिलो हाफमा जेकुरामा जोक गर्छ, दोस्रो हाफमा पात्रमार्फत् त्यसमा माफी माग्ने प्रयास पनि गर्छ।
कमेडीको ओभरडोजबाट फिल्म जब अर्को ट्रयाकमा हिँड्न थाल्छ, फिल्म विस्तारै आफ्नो लयमा आउँछ। पात्रको रुपान्तरणका केही मिनेट फिल्मको मूख्य भाग हो। सन्तानप्रेमीदेखि आफ्नो वंशको महत्व के हो भन्नेसम्मका केन्द्रीय प्रश्नमा फिल्मले निकै भावुक किसिमको स्टेटमेन्ट दिन्छ। यसमा मेलोड्रामाको मात्रा निकै धेरै मिसाइएकाले अर्गानिक मिठाइमा अखद्य रंग धेरै मिसाएजस्तो महसुस हुन्छ। मेलोड्रामा र क्लिसेहरुले किरकिर लागे पनि फिल्मले बोरचाहिँ गर्दैन।
राष्ट्रवादको झन्डा बोकेर हिँडेका अक्षयले यो फिल्ममा त्यसलाई केही समयका लागि बिसाएका छन्। अत्यन्त औषत प्रतीभाका अभिनेता भए पनि अक्षयले बलिउडमा पाइरहेको सफलता भने लोभलाग्दो छ। उनका फिल्मका दुइटा ट्रयाक छन्, एउटा राष्ट्रवादी र अर्को झुर कमेडी। 'गुड न्युज' यी दुवैमा पर्दैन। यो नै उनको सफलता हो। करिना कपुर फिल्मको केन्द्रमा छन्। उनको अभिनय पनि फिल्ममा सबभन्दा राम्रो छ।