१९ भदौ, चितवन । चितवनमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की ५२ वर्षीया कोरोना संक्रमित महिलामा प्लाज्मा थेरापी विधीबाट उपचार सुरू गरेको हो ।
सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या भएपछि ती महिला भदौ ११ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी थिइन् । आइसियूमा उपचाररत महिलामा भदौ १२ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
रगत समूह ‘बी’ पोजेटिभ रहेकी ती महिलाका लागि कोरोना संक्रमित भएर निको भएका सोही रगत समूहका व्यक्तिले रक्तसञ्चार केन्द्र भरतपुरमा रगत दिएका थिए ।
चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले दिएको जानकारी अनुसार डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले संक्रमित महिलामा प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको हो ।
कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार आइसियूमा भेन्टिलेटरको सहायतामा रहेका सिकिस्त संक्रमितलाई प्लाज्मा थेरापी विधीबाट उपचार गर्दा नजिता सुखद आउने विश्वास लिएको बताए । डा. लम्सालले भने, ‘चितवनमा पहिलोपटक हामीले प्लाज्मा थेरापीबाट उपचार सुरू गरेका छौं, सकारात्मक नतिजा आउने विश्वास लिएका छौं ।’
कलेजको आइसियूमा अहिले पनि ११ जना संक्रमित छन् । उनीहरूको अवस्था जटिल रहेको डा. लम्सालले जानकारी दिए । उनले दाताहरू पाए प्लाज्मा थेरापीबाट उपचार गरिने बताए ।
चिकित्सिकहरूका अनुसार बिरामीको शरीरमा रहेको भाइरस एन्टिजिनलाई एन्टिबडीमार्फत उपचार गर्ने विधीलाई प्लाज्मा थेरापी भनिन्छ ।
कलेजले गम्भिर संक्रमित बिरामीहरुलाई एकसाता अघिबाट रेम्डिसिभिर औषधीसमेत ल्याएर चलाएको निर्देशक डा. लम्सालले बताए । कलेजले कोरोना संक्रमितका लागि ५९ बेड आइसियूसहित २०४ बेड उपचारका लागि छुट्टयाएको छ ।
क्षेत्रिय रक्तसञ्चार केन्द्रमा प्लाज्मा बैंक
यसैबीच कोरोना संक्रमण मुक्त भएर १४ दिन आइसोलेसनमा बसेकाहरूले चितवनमा प्लाज्मा थेरापीका लागि रगत दान दिन सुरु गरेका छन् । विहिवार क्षेत्रिय रक्तसञ्चार केन्द्रमा पुगेर तीन जना संक्रमणमुक्त व्यक्तिहरूले रक्तदान गरेका हुन् । बिहीवार ‘ओ’ पोजेटिभ भएका दुई जना र ‘बी’ पोजेटिभ एक जनाले रगत दान गरेका छन् ।
अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । उनीहरूले कोरोना संक्रमितको उपचारका लागि सहज होस् भनेर रगत मार्फत प्लाज्मा दान गर्न पाउँदा खुसी लागेको बताए ।
क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले संक्रमणमुक्त व्यक्तिहरुलाई फूलमालाले स्वागत गर्दै प्लाज्मा दानको सुरूआत भएको घोषणा गरेको छ ।
चितवनमा कोरोना संक्रमण कम गराउन निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम बढ्दै गएको छ । करिब तीन सातामा आइसियूमा जाने बिरामीको संख्या तीन गुणाभन्दा धेरै भएको छ । गम्भिर संक्रमित बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गराउन संक्रमणबाट निको भएकाहरूको नाम, सम्पर्क नम्बर र रगत समूहको सूची बनाइएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।