चैत्र २८ - हामी दिनभरि मेलामा थियौं । हाम्रो सानो पसल पनि थियो । त्योदिन पसल बन्द गरेर गएका कारण बेलुका अलि छिट्टै घर फर्कियौं । घर आएपछि बाबुलाई नुहाएर खाटमा सुतायौं । श्रीमान् र म अब खाना बनाउनुपर्छ भनेर भान्सामा गयौं ।
बाबु सुतेकै ठाउँमा छिमेकी बाबु नानीहरु पनि आए । उनीहरु खाटमा बसे, हामी बुढा बुढी खाना पकाउन भित्र गयौं । बुढाले ग्याँसको सानो लाइटर छिस्स मात्रै पार्नु भएको थियो सिलिन्डरको मुख र ग्याँस चुल्हो दुवैतिर एक्कासी आगो बल्यो ।
निभाउनका लागि बुढाबुढी भएर प्रयास गर्यौं तर आगो निभेन, झनै फैलियो । हाम्रो होस हवासै उड्यो । कसरी बाहिर निस्किएँ मलाई सम्झना छैन । श्रीमान् बाबु नानीलाई झिक्न अर्को कोठामा जानु भएछ तर उहाँ आफैं जल्नुभयो । बाबु नानीलाई झिक्न सक्नु भएन ।
जतिबेला हामीलाई होस आयो, त्यतिबेला गाउँभरका मानिसहरु जम्मा हुनुभएको थियो । मेरो १० वर्षको नानीसहित छिमेकी बाबु र नानी आगोमा जलेछन् । मेरो संसार एकैछिनमा रित्तियो । आफैंले नुहाएर लुगा ओढाएर सुताएको १० वर्षको छोरा अब मैले कहिल्यै पाउने छैन । मेरो र छिमेकी आफन्तको खुसी खोसिएको छ । हामी एक्लो भएका छौं । मेरो घर सबै जलेको छ । सबै खुसी जलेको छ । छोरा गुमाएको म र जलेर घाइते हुनु भएका श्रीमान् ८ दिनदेखि निदाउन सकेका छैनौं ।
के भयो, कसरी भयो अझै भन्न सकिरहेका छैनौं । एउटा ग्याँसको सिलिन्डरले हामीलाई ठूलो पीडा दियो । पहिल्यैदेखि चलाइरहेको ग्याँस हो । बाह्रबिसेको साइलाको पसलबाट किनेको हो । हाम्रो खुसी खोस्ने काम त्यो ग्याँस उद्योगले दिएको कमसल सिलिन्डरले गर्यो ।
उनीहरुलाई कारबाही हुन्छ कि हुँदैन थाहा छैन । केही दिनपछि उद्योगका मान्छेहरु आएर हाम्रो फोटो खिचेर लगेका छन् । यो सबै हुनुमा ग्याँस उद्योगीहरु दोषी छन् ।
हामीलाई पठाएको सिलिन्डर पुरानो र नराम्रो थियो । हामीले गाउँमा प्रयोग गर्ने भएर होला नराम्रो सिलिन्डर दिएको । त्यसैले आज हाम्रो सबै कुरा सकिदियो ।
from onlinekhabar