नेपालगन्ज ०३ बैशाख: नेपालगन्जलाई प्लास्टिकमुक्त घोषणा गर्ने तयारी भइरहेको बेला कागजका झोला उत्पादन सुरु भएको छ। नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले मंगलबार नेपालगन्ज १२ मा रहेको माझी प्रोडक्सन प्रालिको कागजका झोला उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका हुन्।
उनले प्लास्टिक झोलाको विकल्पमा कागज र कपडाको झोलाको विकल्प दिएर चाँडै नेपालगन्जलाई प्लास्टिकमुक्त घोषणा गर्ने बताए। उनले भने, ‘प्लास्टिकको झोला पूर्ण रुपमा रोक्न निकै चुनौतीपूर्ण छ। प्लास्टिकमुक्त घोषणा गर्दा हामी विकल्प दिएर प्लास्टिक न्यूनीकरणका लागि प्रयास गर्नेछौं। क्रमशः बन्द हुनेछ।’
प्रोडक्सन प्रालिले विभिन्न तौलका सामान बोक्न झोला उत्पादन गरेको छ। चाँडै दुना, टपरी, ग्लास, कप उत्पादन गर्ने सञ्चालक कुमार अधिकारीले बताए। उनले भने, ‘गुणस्तरीय झोला प्रति गोटा पाँच रुपैयाँ पर्छ। हामी गुणस्तर घटाएर एक रुपैयाँसम्म दिन सक्छौं।’