बैशाख १०, निजगढ । बाराको निजगढ १० लालमा आईतबार राती भिषण आगलागी भएको छ । राती साढे १० बजे सुरु भएको आगो दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागिमा दुईवटा गोठ सहित तीन वटा घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
आगोले कालू मोक्तानको घर जल्दा नगद, गरगहना, लत्ताकपडा, १५ मुरी धान, मकै जलेर नष्ट भएको छ । त्यस्तै श्यामलाल बोम्जनको गोठ जल्दा ३ वटा भैंसी, १५ बाख्रा र कृष्ण बहादुर बोम्जनको गोठ जल्दा २५ वटा बाख्रा मरेको छ । आगलागिबाट करिब १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । टायलको छानो काठको घर(गोठमा लागेको आगो ४ वटा दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, फाष्टका नेपाली सेना र स्थानीय ४ घण्टा लगाएर नियन्त्रणमा ल्याएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी, चन्द्रपुर, नगरपालिका र नेपाल आयल निगम अम्लेखगञ्जबाट दमकल पुगेको थियो ।