वीरगन्ज असाढ ३० : वीरगन्ज महानगरपालिकाविरुद्ध आर्दशनगरका व्यापारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। पाँच दिनदेखि परेको अविरल पर्साले आर्दशनगर क्षेत्र पूरै डुबानमा परी करोडौंको क्षति भएको भन्दै व्यापारीहरूले त्यसको क्षतिपुर्ति महानगरपालिकाले नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
सोमबार आर्दशनगर चौकका व्यापारीले विरोध स्वरुप एकघण्टा पसल बन्द गरेर प्रर्दशन गरेका थिए। उनीहरूले सडक पेटीमै पत्रकार सम्मेलनको आयोजना गरी एसियाली विकास बैंकले २ अर्ब ४० लाख रुपैयाँ पानीमै बगाएको आरोप लगाए।
वीरगन्जमा वर्षाका बेला हुँदै आएको डुबानको समस्या अन्त्य गर्न एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा २ अर्ब ४८ करोड खर्चेर भुमीगत नाला र ढल निर्माण गरिए पनि यसपाली पहिलेको भन्दा बढी पसल र घरहरू डुबानमा परेको आदर्शनगरका व्यापारीहरूले बताए।
पत्रकार सम्मेलनमा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं व्यवसायी ओमप्रकाश शिकारीयाले भुमिगत नालाको नाममा कराडौं रुपैयाँ घोटाला भएको भन्दै राज्य स्तरीय छानविन समिति गठन गरेर दोषीलाई कानुनी कारवाही गर्नुपर्ने माग समेत गरे।
अव्यस्थित नाला निर्माण गरी वीरगन्जलाई डुबाउने काम भएको भन्दै उनले भने, ‘पुरानै भएको नालाले कहिले पनि आर्दशनगर क्षेत्र डुबान हुँदैनथ्यो, पानी परेको केहि घण्टाभित्र नै पानी निकास हुन्थ्यो। तर, जहिलेदेखि एडीबीको सहयोगमा नाला निर्माण गरियो त्यसपछि झन वीरगन्जवासीनै डुबानमा परेका छन्।’
पानीले आदर्शनगर क्षेत्र पूरै डुबानमा परे पनि महानगरपालिका प्रमुख विजयकुमार सरावगी एकपल्ट पनि निरीक्षणका लागि नआएको भन्दै उनले दुखेसो पोखे। शिकारीयाले यस विषयमा राज्यले निश्पक्ष छानविन गरी दोषीलाई कानुनी कारवाही गर्नुपर्नेमा उनले जोड दिए। कुनै पनि दैविक प्रकोप हुँदा व्यापारीहरू राहत समाग्री लिएर सबैभन्दा अघि जाने गरे पनि आर्दशनगर क्षेत्र डुबानमा पर्दा कसैले बास्ता नगरेको उनले आरोप लगाए।
उनले जिल्ला प्रशासन कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघ र महानगरपालिकाको संयुक्त टोलीले डुबान पसल, गोदाममा के कति क्षति भएको छ, त्यसको लागत संकलन गरी संघीय र प्रदेश सरकारले छुट्याएको राहतको रकम एक आपसमा भागबन्डा नगरी पीडीत व्यापारीलाई वितरण गर्न माग गरे। अविरल वर्षाका कारण आदर्शनगर क्षेत्रमा मात्रै २ सय बढी पसल र एक सय बढी घर तीन दिन सम्म डुबानमा परेको आदर्शनगर ग्रिन सिटका अध्यक्ष प्रकाश खेतानले बताए।
एडीबी र महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको भुमीगत ढल र नालाको डिजाइनमै त्रुटी भएका कारण डुबानको समस्या पहिलेको भन्दा बढि खेप्नु परेको खेतानले बताए। पत्रकार सम्मेलनमा संघका पूर्व उपाध्यक्ष मनोज शर्माले तत्कालिन वीरगन्ज महानगरपालिकाका अधिकृत बिष्णु कोईरालाले नगरलाई तहस नहस गरी नगवासीलाई डुबानमै पारेर गएको आरोप लगाए।