१ साउन, वीरगञ्ज । साउन १ गतेदेखि वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम निजी संस्थाले गर्न शुरु गरेको छ । संस्थाले आजैदेखि वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका कर्मचारीहरुसँग मिलेर काम शुरु गरेको छ ।
सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत आर्थिक वर्ष ०७६/७७ देखि नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले लिएको हो ।
वीरगञ्ज महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख राज ताम्राकारले एकैपटक संस्थालाई जिम्मा दिँदा अप्ठेरो स्थिति आउन सक्ने भएकोले सहकार्यमा काम शुरु गरिएको बताए ।
‘अहिले हामीले नै सहयोग गरिरहेका छौं । उनीहरुले १६ वटा वडामा सुपरभाईजर राखिसकेका छन् ,’ उनले भने, ‘एक साताजति पुरानै हिसाबले काम चल्ने त्यसपछि संस्थाले आफ्नो हिसाबले काम गर्ने कुरा छ ।’
वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्ने लगायत विभिन्न कसुरमा कसुर अनुसार ५ सय देखि १ लाखसम्म जरीवानाको व्यवस्था गरिएको छ । तर, ऐनको प्रभावकारी कार्यान्वयन गराउन महानगरले सकेको छैन ।
त्यसले गर्दा सरसफाइका लागि निजी क्षेत्रको जिम्मा दिइएको छ । निजी संस्थाको मातहतमा नगरपालिकाको सरसफाई शाखाका कर्मचारीसमेत रहने गरी महानगरपालिकाले सँस्थासँग सम्झौता गरेको छ ।