१६ भदौ, सर्लाही । ईश्वरपुर नगरपालिका १५, सुकनाशकी सरिता धामीले सदरमुकाम मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’सँग २ लाख ५० हजार रुपैयाँ ऋण लिइन् ।
चार वर्षअघि लिएको ऋणबाट कुखुराको मासु पसल खोलिन् । त्यसकै आम्दानीमा दुई छोरा र दुई छोरीको पालनपोषण गर्नुका साथै साहु श्यामकृष्णलाई पैसा बुझाइरहिन् ।
जति गर्दा पनि ऋण नसकिएपछि धामी दम्पतिले लालबन्दीमा रहेको १० धुर जग्गा चार लाखमा बेचे । ‘हामीले अहिलेसम्म ४ लाख बुझाइसकेका छौं । अझ ५० हजार तिर्न बाँकी छ भन्छन्,’ उनी भन्छिन्, ‘सर्वस्व गुमाएर परदेशीलाई रकम तिर्दा पनि मुद्दा हालेर मेरो श्रीमान कारीलाई जेलमा पठाएका छन् ।’
परदेशीले मुद्दा हालेपछि बुझ्दै जाँदा थाहा भयो, साढे २ लाख ऋण दिएका साहु परदेशीले १२ लाख ५० हजार, १० लाख र ४० लाखको तीन वटा तमसुक बनाएका रहेछन् ।
तर धामी दम्पत्तिको केही लागेन । अदालतबाट पक्राउ पूर्जी आएपछि १० साउनमा कारी धामी पक्राउ परे ।
यससँगै उनको परिवार थप समस्यामा परेको छ । ‘एकातिर श्रीमान् जेल गएको वेदना छ, अर्काेतर्फ छोराछोरी र आफ्नो पेट पाल्नुपर्ने बाध्यता छ,’ सरिता भन्छिन् ।
धामी दम्पत्तिका जेठा छोरा बोल्न सक्दैनन् । अर्का एक छोरा र दुई छोरी हुर्किसकेका छैनन् । श्रीमान श्रीमती मिलेर पसल चलाएका थिए । कारी जेल परेपछि आफू एक्लैले पसल चलाउन नसक्ने अवस्था आएको भन्दै सरिताले आफ्नो बाध्यता सुनाइन्, ‘म ठूलो मजधारमा फँसे । न मरेकी छु, न बाँचेकी छु ।’
मिटरब्याजी साहु परदेशीका कारण समस्या परेको धामी परिवार त एउटा दृष्टान्त मात्र हो ।
परदेशीको ऋणकै कारण चार जनाले आत्महत्या गरेका छन् । लिएको भन्दा दोब्बर पैसा बुझाउँदा पनि ऋण नसकिएको भन्दै परदेशीले दबाव दिएपछि लालबन्दी ३ की दुर्गा देवी चौधरी र उनको ससुरा श्रीकान्तले आत्महत्या गरेका हुन् ।
स्थानीय महिलाका अगुवा रुक्मिणी चौधरीका अनुसार दुर्गादेवीले परदेशीसँग लिएको ऋण जति तिर्दापनि सकिएन, जग्गा समेत बेचेर पैसा बुझाएकी थिइन् । ससूरा बुहारीसँग छुट्टाछुट्टै तमसुक बनाएका साहु परदेशीले मुद्दा हालेपछि दुर्गादेवीले आत्महत्या गरिन् ।
त्यसको दुई महिना नबित्दै उनका ससूरा श्रीकान्त चौधरीले पनि आत्महत्या गरे ।
इश्वरपुर नगरपालिका–१५ का राजबीर चौधरीले पनि ऋणकै भार थेग्न नसकी आत्महत्या गरे । उनको आत्महत्या गर्नुको कारण पनि थियो, दुई पटक मुद्दा झेल्न बाध्य हुनु । परदेशीले पहिलो पटक उनीविरुद्ध मुद्दा दर्ता गराउँदा राजवीर एक वर्ष जेल बसेर घर आए । यसको दुई महिना नबित्दै अदालतबाट मुद्दा दर्ताको अर्काे सूचना पाएपछि उनले आत्महत्या गरेको रुक्मिणीको भनाइ छ । रुक्मिणीका अनुसार एक वर्षअघि सन्तलालले पनि आत्महत्या गरेका थिए ।
अधिकांशले गुमाए सर्वस्व
लालबन्दी ५ की विणा चौधरीले चार वर्षअघि साहु परदेशीसँग ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । विणाले उनलाई ९ लाख तिरिन् । आफूसँग भएको १३ धुर जग्गा बन्धकी राखेर रकम बुझाउँदा पनि विणा परदेशीको ऋणबाट मुक्त भएकी छैनन् । कारण परदेशीले ऋण दिएकोभन्दा कयौं गुणा बढी रकम राखेर दुई तमसुक बनाएका रहेछन् । उनले विणाको नाममा ३० लाख र छोरी अमृताको नाममा २० लाखको तमसुक बनाएको पाइएको छ ।
७ लाख ऋण लिएकी सावित्रीदेवी चौधरीले पनि ९ लाख रुपैयाँ बुझाइसकिन् । लालबन्दीमै रहेको घरसहित एक कठ्ठा जग्गा धितो राखेर परदेशीलाई रकम बुझाइन् । तर परदेशीले बनाएको तमसुक फिर्ता पाउन सकेकी छैनन् ।
हरिपुर नगरपालिका ७ की रिणादेवी साहले २०७२ सालमा २ लाख ९० हजार ऋण लिएकी थिइन् । तर परदेशीले उनको परिवारका सदस्यहरुको नाममा ७ वटा तमसुक बनाए र भने, मलाई १२÷१३ वर्षकी केटी ल्याइदिए व्याज लाग्दैन । त्यसपछि रिणादेवीले घरसहित १० धुर जग्गा बेचिन् र २ लाख ९० हजारको एक वर्षमा साउब्याज गरेर ४ लाख ५० हजार बुझाइन् ।
लालबन्दी ४ की रम्भाकुमारी चौधरीले पनि परदेशीको ऋण तिर्न २ कठ्ठा जग्गा धितो राखेर ६ लाख अर्काे ऋण लिइन् । परदेशीलाई रु ४ लाख बुझाइन् । तर अझै १० लाख बाँकी रहेको भन्दै नदिए जेलमा हाल्ने धम्की दिइरहेको उनले सुनाइन् ।
४ लाखको ऋण लिएकी हरिपुर नगरपालिका ७ की शारदादेवी चौधरीले पनि आठ कठ्ठा जग्गा बेचेर ८ लाख तिरिन् । तर उनी ऋणमुक्त भइसकेकी छैन । उनको नाममा परदेशीले १ करोडको तमसुक बनाएका रहेछन् ।
लालबन्दी ४ की अरहुला चौधरी, लालबन्दी ७ की सञ्जु कापरको अवस्था पनि योभन्दा फरक छैन । १ लाख ५० हजार ऋण लिएकी चौधरीले बैंकमा जग्गा धितो राखेर २ लाख बुझाइसकेकी छन् भने कापरले परदेशीको ऋण चुक्ता गर्न महिलाहरुको समूह बनाएर स्वालम्बन बैंकमा ऋण थाप्नुपर्यो ।
प्रदेशसभा सदस्य डिल्ली उप्रेती अधिकांशले घरघडेरी बेच्दा पनि परदेशीको ऋण नसकिएको बताउँछन् । ‘व्यक्तिको सर्वस्व सिध्याउने यो ठूलो अपराध हो,’ उनी भन्छन्, ‘कागजको जालसाजी गरेर मर्न बाध्य पार्नेलाई कडा कारबाही गर्नुपर्छ ।’
पहिला तमसुक, महिनौंपछि रकम
छोरा परवेजलाई विदेश पठाउन लालबन्दी २ नवलपुरकी फतमा खातुनलाई मंसिर २०७२ मा पैसा चाहियो । अन्त नपाएपछि उनी साहु परदेशी कहाँ पुगिन् र १ लाख ऋण मागिन् ।
परदेशीले तत्कालै ४ लाखको तमसुक बनाए र, रकम पठाइदिन्छु भने । तर तीन महिना बुझाएँ खातुन भन्छिन्, ‘पटकपटक माग्दा बल्ल १४ माघमा रकम दियो ।’
रकम दिए पनि परदेशीले उनी, छोराहरु परवेज र अपरोजसँग ४/४ लाखको तीन वटा तमसुक बनाएका रहेछन् । अहिले परदेशी त्यही तमुुसुक देखाएर मुद्दा हाल्न गएका छन् । खातुनबिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।
त्यति मात्र होइन, परदेशी ऋण लिएको रकम पुरै दिँदैनथे । कमसिन भन्दै सुरुमै रकम काट्थे । १ लाख रुपैयाँ लिँदा २५ हजारसम्म कटाएर ७५ हजारमात्र दिने गरेको पीडितहरु बताउँछन् । लालबन्दी ५ की मरणीदेवी साहले २ लाख ऋण लिँदा ४० हजार कट्टा गरेर १ लाख ६० हजार मात्र पाएकी थिइन् भने सावित्री कापरले २३ हजार र फतमा खातुनसँग २३ हजार कम रकम पाएकी थिइन् ।
onlinekhabar