बरहथवा पुष २९ – प्रहरी हिरासतमा रहेका ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवको घरमा आज (सोमबार) सुरक्षाकर्मी टोलीले ‘छापा’ मारेको छ ।
बरहथवा नगरपालिका सितापुर स्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय मलंगवा मुद्धाफाँटको टोली तथा ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले छापा मारेको हो । अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘अनुसन्धान जारी रहेकाले यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात फेला पर्छ की भनेर घर खानतलासी गरेका हौं’, प्रउ पोखरेलले भने, ‘अहिले हाम्रो टोलीले खानतलासी लिईरहेको छ ।’
यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मी माथि दुव्र्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । यादव विरुद्द गृह मन्त्रालयमा ठगीको उजुरी परिसकेको र जिल्ला प्रहरी कार्यालयमा समेत विभिन्न पीडितहरुले उजुरी दिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितहरुको एक समूह गत मंगलबार काठमाडौं पुगेर राजनैतिक दलका नेता गृह मन्त्री रामबहादुर थापा बादल एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीहरुसँग गुनासो गरेपछि सर्लाही प्रहरीले बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको हो । ब्रम्हपुरीका संजय गुप्ता रौंनियारले समेत यादवले जस्तै मिटरब्याज असुल्ने गरेको र ऋण चुक्ता गरिसक्दा समेत धितो स्वरुप राजिनामा गरिएको जमिनहरु फिर्ता नगर्ने गरेको पीडितहरुले गुनासो गरेका थिए ।
तर रौंनियार भने भारततर्फ भागेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । भारतको सोनवर्षामा साडी संसार तथा सीतामाढीमा ठूलो होटल समेत सञ्चालन गरिरहेका रौंनियार सीतामाढीतर्फ भागेको प्रहरी स्रोतले जनायो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य समेत रहेका यादव स्थानीय तह निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा प्रमुखको प्रत्यासी थिए । त्यस्तै रौंनियार पनि प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. २ मा तत्कालिन नयाशक्ति पार्टीबाट संघीय सांसद्का प्रत्यासी थिए ।
यता राजपा नेपालले भने यादवलाई राजनैतिक पूर्वाग्रह राखेर कम्युनिष्ट सरकारले फसाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएको छ । राजपाले शिक्षासेवी एवं असल राजनैतिक नेता भएको र यादवको सामाजिक चरित्र हत्या गरिएको दाबी गर्दै आएको छ । गत विहिबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन सहित यादवलाई अबिलम्ब रिहाईको माग गर्दै राजपाले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको थियो ।
त्यस्तै आईतबार बरहथवा बजारमा समाजको अगुवा एवं प्रबुद्ध वर्गको नाममा प्रहरी हिरासतमा रहेका यादवलाई तत्काल छाड्न माग गर्दै जुलुस निस्किएको थियो । जुलुमा राजपा जिल्ला सचिव बलिराम चौधरी सहित अधिकांश राजपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । उक्त समूहले जुलस पश्चात ईलाका प्रशासन कार्यालय बरहथवा मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत पठाएको छ ।
यादव पक्षको जुलुस सकिएलगतै आईतबार नै ऋणपीडितहरुको एक समूहले समेत बरहथवा बजारमा विरोध प्रदर्शन गरेको थियो । उनीहरुले ऋण दिने नाममा यादव र रौंनियारले आफूहरुको बिल्लीबाठ बनाएको गुनासो गरे ।
केही महिना अघि मात्रै मिटरब्याजी आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार पक्राउ परेका थिए । उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन् ।